रात्रिकालिन व्यवसाय बन्द गर्न ९ बजेपछि अब प्रहरी नआउने

काठमाढौं । रात्रिकालिन व्यवसाय संचालन गरिरहेका व्यवसायीलाई राहत पुग्ने गरि सरकारले निर्णय लिएको छ । अब रात्रिकालीन व्यवसायमा लगाइएको समयको सीमा हटेको छ । यसअघि रातको ९ बजेपछि व्यवसाय बन्द गर्न प्रहरी आउने गरेको थियो । गृह मन्त्रालयले होटल, रेस्टुरेन्ट, डान्स-दोहोरी-क्लब, लाउन्ज बार लगायत सबै किसिमका रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न सकिने निर्णय गरेको छ । रात्रिकालीन व्यवसाय सञ्चालनबारे अध्ययन गरेर मापदण्ड बनाउन गृहमन्त्री बालकृष्ण खाँणले एक कार्यदल बनाएका थिए ।

शान्ति सुरक्षा महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलको नेतृत्वमा गठन भएको कार्यदलको सिफारिसका आधारमा मन्त्रालयले अब रात्रिकालिन व्यवसाय बन्द गर्न प्रहरी नपठाउने निर्णय गरेको हो । यद्दपी व्यवसायलाई सुरक्षित र मर्यादित बनाउने दायित्व भने सम्बन्धित व्यवसायीकै हुने छ । त्यसका लागि प्रहरी समेत खटिने छ । खासगरी ठमेललगायतका पर्यटकीय क्षेत्रमा रात्रिकालिन व्यवसाय निरन्तर संचालनको माग लामो समयदेखि उठेको थियो ।