रुसले युक्रेनको बाल अस्पतालमा गर्यो आक्रमण, विश्व समुदायसँग राष्ट्रपति निरास

काठमाडौं । रुसले युद्ध बिराम गरेको भनेकै दिन युक्रेको एक बाल अस्पतालमा आक्रमण गरेको छ । यो घटनाबारे विश्व समुदायले वास्ता नगरेको भन्दै राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले निरासा व्यक्त गरेका छन् । उनले रुसको कदमलाई युद्ध अपराध समेत भनेका छन् । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीका अनुसार घेराबन्दीमा परेको मारिओपोल सहरमा रहेको प्रसूति तथा बाल अस्पतालमा बम विष्फोट गराइएको छ । उनले राजधानी किएभबाट भिडिओ सम्बोधन गर्दै विश्व समुदायलाई घटनबारे जानकारी गराए ।

एकजना क्षेत्रीय गभर्नरले त्यहाँ कम्तिमा १७ जना घाइते भएको बताए । भिडियो फुटेजमा एउटा भवनका झ्याल बाहिर उडेको र नजिकै ठूला खाडलहरू बनेको देखिएको छ। विश्व स्वास्थ्य संगठनले युक्रेनमा आक्रमण सुरु भएदेखि नै त्यहाँका स्वास्थ्य संस्थामा कम्तीमा १८ विभिन्न आक्रमणहरू भएको पुष्टि गरेको छ । मारिओपोलका मेयरले रुसले बमबारी सुरु गरेदेखि यस सहरमा १२ सयभन्दा बढी सर्वसाधारण मारिएको बताएको बीबीसीले लेखेको छ ।