संखुवासभा बस दुर्घटना : मृतक सबैको पहिचान खुल्यो, चालक र सहचालक दुवैको मृत्यु

काठमाडौं । संखुवासभाको मादी नगरपालिका–६ स्थित सातघुम्तीमा भएको बस दुर्घटनामा मृत्यु भएका १४ जनाकै सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीका अनुसार मृतक सबै पहिचान खुलेको छ।

मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको फाक्चामाराका ३१ वर्षीय विपीन निरौला, संखुवासभा मादी-५ का सहचालक ३५ वर्षीय उमेश भट्टराई रहेका छन् ।

त्यस्तै मादी-६ का ३० वर्षीया सीता बिक, ३२ वर्षीया अञ्जना कटुवाल, तुलसा कटवालको पाँच वर्षीया छोरी दिक्षा कटवाल, मादी-५ का ४९ वर्षीय भवानीप्रसाद दाहाल रहेका छन् ।

त्यस्तै मादी-५ का ५५ वर्षीय श्याम शेर्पा, मादी-४ का आइतबहादुर तामाङ, मादी-२ का ४२ वर्षीय ईन्द्र अधिकारी, मादी-४ का ६० वर्षीय बलबहादुर कार्की, २८ वर्षीया सबिता कार्की, मादी-५ का ४८ वर्षीय दिपककुमार दाहाल, ताप्लेजुङका ३१ वर्षीया समीक्षा योञ्जन र समीक्षा योञ्जनको ८ वर्षीय छोरा सुदिप घिसिङ रहेका छन् ।

बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस दुर्घटनामा परेको थियो । बस मादी-६ को सातघुम्ती नजिकै दुर्घटनामा परेको हो । बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।