खोपको मात्रा पुरा गरेकाको अब कोरोना परीक्षण नहुने

काठमाडौं । नेपालमा पूर्ण रुपमा कोरोनाको खोप लगाएका व्यक्तिको अब पिसिआर परीक्षण नहुने भएको छ । स्वास्थ्य मन्त्रालयले कोभिडको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएकाहरुलाई पीसीआर टेस्ट अनिवार्य नगराउन सबै स्वास्थ्य संस्था तथा अस्पतालहरूलाई निर्देशन दिएको हो । अब उपचारका लागि अस्पताल जाँदा कोभिड–१९ सङ्क्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएकाहरूलाई पीसीआर टेस्ट गर्नु नपर्ने मन्त्रालयको भनाई छ । यसअघि अस्पतालहरुले यस्तो परीक्षण अनिवार्य गरेका थिए ।

मन्त्रालयका अनुसार १५ लाखभन्दा धेरैले कोभिड–१९ विरुद्धको बुस्टर डोज लगाइसकेका छन् । पूर्ण मात्रा खोप लगाएको ६ महिनापछि अनिवार्य रुपमा बुस्टर डोज लगाउन मन्त्रालयले आग्रह गरेको छ । अहिलेसम्म कुल जनसङ्ख्याको ६३ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । एक करोड ८६ लाख ३ हजार ४५४ जनाले पहिलो मात्रा र एक करोड ८३ लाख ५२ हजार १२१ जनाले पूर्ण मात्रा खोप लगाइसकेका मन्त्रालयको तथ्यांक छ ।