मलेसियाबाट आउन थाल्यो श्रम स्वीकृति

काठमाडौ । नेपाली श्रमिकको मुख्य गन्तव्य मलेसियामा श्रम स्वीकृति प्रदान गर्ने काम पुनः सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिब दुई वर्षदेखि रोकिएकोमा प्रचलित कानुन अनुसार पुन: सुरु गर्ने मन्त्रीस्तरीय निर्णय गरेको उनको सचिवालयले जनाएको छ ।

मलेसिया सरकारबाट नेपालीलाई प्राप्त रोजगारीको अवसर गुम्न नदिन प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल–मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी नेपाली कुटनीतिक नियोगबाट प्रमाणीकरण भई आएका मागपत्रलाई श्रम स्वीकृति दिने निर्णय भएको मन्त्रालयले जनाएको छ । कोरोना महामारीका कारण सन् २०२० मार्चदेखि मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेपछि नेपाली श्रमिकहरु जान पाएका थिएनन् ।

तर गएको जनवरी २८ तारिखदेखि मलेसियाले विभिन्न मापदण्डसहित विदेशी श्रमिकको भर्ना प्रक्रिया सुरु गरेको थियो । योसँगै त्यहाँ रहेको नेपाली दूतावासले पनि कामदार माग पत्र प्रमाणीकरणको काम सुरु गरिसकेको र माग प्रमाणिकरण भई आएकोले श्रम स्वीकृति प्रदान गर्न थालिएको मन्त्रालयले जनाएको छ