काठमाडौं । लोकगायक प्रकाश सपुत आफ्ना सिर्जना मार्फत समाजमा कुनै न कुनै तरंग ल्याउन माहिर मानिन्छन् । यस पटक उनले माओवादी जनयुद्धमा लागेका लडाकुहरुको पिर मर्कालाई गीतमा उतार्ने प्रयास गरेका छन् । जसलाई पिर नामक गिती एल्वमका रुपमा सार्वजनिक गरेका छन् । यससँगै माओवादी केन्द्र सम्बद्ध कार्यकर्ताले भने तिब्र आलोचना गरिरहेका छन् । खासगरी माओवादीको महिला लडाकुलाई देह व्यापार गर्न बाध्य भएको सन्देश दिने गरि कथावस्तु राखेपछि उनहिरु विच्किएका छन् ।
माआोवादी केन्द्र आवद्ध चार संगठनले प्रकाश सपुतको गीत ‘पिर’प्रति आपत्ति जनाउँदै तत्काल युट्यूब च्यानलबाट हटाउन माग गरेका छ्न् । जनक्रान्तिका घाइते तथा अपांग योद्धा संघ, अखिल नेपाल महिला संघ, जनसांस्कृतिक महासंघ र प्रेस सेन्टरले आइतबार संयुक्त वक्तव्य जारी गर्दै पिर गीतको भिडियोमा जनमुक्ति सेना र घाइते योद्धाहरुलाई अहिले आफ्नो जीवन धान्नको लागि देह व्यापार र परस्त्रीगमनमा लागेको भ्रमपूर्ण दृश्यहरु देखाइएको बताएका हुन् ।
‘भिडियोको अन्तमा शून्यताको प्रतिविम्ब प्रदर्शन गर्दै देश छोड्नुपर्ने सम्मको निकृष्ट, कपोकल्पित, झूट, राजनैतिक पूर्वाग्रह साधिएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘महिलाहरुको चरित्र हत्या गरी अश्लील र घोर अपमानजनक ढंगले प्रस्तुत गरिएको छ । यस गलत क्रियाकलापको जति निन्दा गर्दा पनि कम हुन्छ ।’ संवेदनशील विषयलाई दुरुपयोग गर्दै अप्रासंगिक दृश्य र संवाद राखेर चर्चामा आउने बदनियत राखेको उनीहरुको आरोप छ । यो भिडियो तत्काल युट्यूब च्यानलबाट हटाउन र सार्वजनिक रुपमा अपराध स्वीकार गरी माफी माग्न माग गरेका छन् ।