नेपाली श्रमिक भएका मुलुकको भ्रमणमा निस्कदै श्रममन्त्री

काठमाडौं । नेपाली श्रमिक रहेका मुलुकको भ्रमणका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली आज प्रस्थान गर्ने भएको छ । मन्त्रालयका अनुसार यूएई, सेसेल्स र कतारको भ्रमणका लागि टोली त्यसतर्फ जान लागेको हो । नेपाल–यूएई संयुक्त समितिको बैठकका साथै रोजगारीका लागि पर्यटन भिसामा संयुक्त अरब इमिरेट्स पुगी अलपत्र परेका नेपालीको समस्या समाधान गर्न मन्त्री श्रेष्ठ नेतृत्वको टोली यूएई जान लागेको मन्त्रालयले जनाएको छ ।

भ्रमण टोलीमा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा.थानेश्वर भुसाल, परराष्ट्र मन्त्रालयका उपसचिव प्रकाश अधिकारी र केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक रोशन खड्का समेत रहने छन् । भ्रमण भिसामा लैजाने व्यक्ति÷संस्थालाई कानुनी दायरामा ल्याउन केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षकलाई पनि टोलीमा समावेश गरिएको हो । भ्रमणका क्रममा मन्त्री श्रेष्ठले संयुक्त अरब इमिरेट्सका आफ्ना समकक्षीका अतिरिक्त त्यहाँका उच्चपदस्थ अधिकारी र नेपाली श्रमिकहरूसँग पनि छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।

मन्त्री श्रेष्ठले भोलि भिजिट भिसा र त्यसबाट सिर्जित समस्या समाधानका उपायबारे यूएईका मानव संशाधनमन्त्री डा. अब्दुलरहमान अब्दुलमानन अल अवारसँग छलफल गर्ने भएका छन् । मंगलबार नेपाल–यूएई संयुक्त समितिको बैठक उद्घाटन सत्रमा मन्त्री श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम छ । नेपाल–यूएई संयुक्त समिति बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सहसचिव राजीव पोखरेलले गर्नुहुनेछ । नेपाल–यूएई संयुक्त समितिको बैठकमा सन् २०१९ मा भएको श्रम–सम्झौता कार्यान्वयनमा देखा परेका समस्या समाधानबारे छलफल हुनेछ ।

बुधबार मन्त्री श्रेष्ठले आबुधाबीमा रहेको नेपाली दूतावासमा नेपाली श्रमिकले भोगेका समस्या र समाधानबारे नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम छ । त्यही दिन यूएईमा रहेका नेपाली समुदाय तथा श्रमिकहरुसँग अन्तर्क्रिया गर्ने कार्यक्रम राखिएको छ । मन्त्री श्रेष्ठ नेतृत्वको टोली बिहीवार बेलुका अफ्रिकी देश गणतन्त्र सेसेल्स प्रस्थान गर्नेछ । वैदेशिक रोजगारीका लागि नेपाली श्रमिक लैजान गणतन्त्र सेसेल्सबाट प्राप्त द्विपक्षीय श्रम सम्झौताको प्रस्ताव र रोजगारीका थप अवसरहरुबारे त्यहाँका उच्च अधिकारीहरुसँग छलफल हुने बताइएको छ ।