एमसीसी प्रकरणमा भीम रावलविरुद्ध प्रधानमन्त्रीको आक्रोस

काठमाडौं । एमसीसी प्रकरणमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले नेता भीम रावलविरुद्ध आक्रोस व्यक्त गरेका छन् । रावल मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गर्दै आएका नेता हुन् । सोमबार किस्पाङ गाउँपालिकाको भवन उद्घाटनमा नुवाकोट पुगेका प्रधानमन्त्री देउवाले एमसीसी नेपालको हितमा रहेको मिेत उल्लेख गरे ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा ल्याएको प्रस्तावलाई आफूले पारित गरेको भन्दै देउवाले अगाडी भने, , ‘मैले एमसीसी पास गर्दा भीमबहादुर रावललाई किन टाउको दुख्ने ?’ एमसीसी परियोजनाका बारेमा गरिएका नकारात्मक टिप्पणीहरु भ्रममात्र भएको भन्दै उनले रावल मन्त्री हुँदा एसमसिसीको प्रक्रिया अघि बढेको उल्लेख गरे ।

‘एमसिसी राष्ट्रघाती भन्दै हिँड्ने उहाँ रक्षामन्त्री हुँदा अनुमोदनका लागि संसद्मा लैजान हस्ताक्षर गर्ने अनि अहिले विरोध गर्दै हिँड्ने ?’ उनले नेता रावललाई आफैं सहभागी मन्त्रिपरिषद्ले एमसीसी संसदमा लैजान पास गर्दा किन राजीनामा नदिएको भनेर प्रश्न समेत गरे । सरकारमा हुँदा एमसिसी चाहिन्छ भनेर संसद्बाट पास गर्न लाग्नेहरु अहिले सत्ताबाट बाहिर हुँदा विरोध गरेको भन्दै उनले दोहोरो चरित्र नदेखाउन उनको आग्रह छ ।