काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को वितरण प्रणाली आवेदन आजबाट अनिश्चितकालका लागि बन्द भएको छ । सोमबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले चैत १ देखि अर्को सूचना नभएसम्म नयाँ निवेदन नलिने बताएको हो । विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार हालसम्मका निवेदकको परिक्षा यथाशक्य छिटो टुंग्याउनुपर्ने भएकाले नयाँ निवेदन नलिइएको हो ।
अहिले विभाग र विभिन्न प्रदेश अन्तरगत रहेका लाइसेन्स कार्यालयमा सवारी लाइसेन्सको आवेदन, लिखित परीक्षा, प्रयोगात्मक परीक्षा (ट्रायल) र लाइसेन्स छपाइ र वितरणसम्मका सबै कामको थुप्रो लागेको छ । यसअघि कोरोनाको कारण देखाएर लामो समय आवेदन रोकेका कारण नयाँ चालक समस्यामा छन् । ६ महिना बन्द गरेर गत ९ कात्तिकदेखि लाइसेन्सको आवेदन लिन थालिएको थियो ।