पेट्रोल प्रतिलिटर १५५ पुग्यो, अन्य इन्धनको मूल्य कति ?

काठमाडौं । सरकारले नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले इन्धनको मूल्य आजै रातीबाट लागु हुने गरि बढाएको हो । निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले मध्यरातिदेखि लागु हुने गरी डिजेल मट्टीतेल र पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाउने निर्णय गरेको हो । नयाँ मूल्य सूचीअनुसार अब पेट्रोल लिटरको १५५ रुपैयाँ पर्छ भने मट्टितेल र डिजेलको १३८ रुपैयाँ पर्छ । हवाई इन्धनतर्फ आन्तरिकतर्फ १५ रुपैयाँ बढेको छ र प्रतिलिटर १५१ रुपैयाँ पुगेको छ । अन्तराष्ट्रियतर्फ प्रति किलोलिटर २०० डलर बढेको छ । अब अन्तर्राष्ट्रिय तर्फ हवाई इन्धनको मूल्य प्रति किलोलिटर मूल्य १४९५ अमेरिकी डलर पुगेको छ ।


खाना पकाउने ग्लपी ग्यासको मूख्य भने बढेको छैन । यद्यपि प्रतिसिलिण्डर निगमलाई ६६५ रुपैयाँ ३४ पैसा घाटा रहेको निगमको दाबी छ । उसका अनुसार पेट्रोलमा प्रतिलिटर २८ रुपैयाँ ५७ पैसा, डिजेलमा ३२ रुपैयाँ १५ पैसा घाटा छ भने मट्टितेलमा प्रतिलिटर २४ रुपैयाँ ३४ पैसा नाफा छ । यस्तै हवाई इन्धनमा पनि नाफा छ । मूल्य समायोजनले १५ दिनको अनुमानित घाटा ५ अर्ब ३० करोडबाट घटेर ४ अर्ब ४४ करोडमा पुग्ने निगमले जनाएको छ ।