रुसद्धारा अमेरिका र युरोपबाट भाडामा ल्याएका सयौं विमान कब्जा

काठमाडौं । अमेरिका र युरोपेली देशहरुको प्रतिबन्ध सामना गरिरहेको रुसले सयौं व्यवसायिक विमान कब्जा गरेको छ । रुसले आफ्नो देशका वायु सेवा कम्पनीहरुले भाडामा ल्याएका अमेरिका र युरोपेली कम्पनीका सयौं व्यावसायिक विमान कब्जामा लिएको हो ।

युक्रेनमा आक्रमण गरेपछि लागेको प्रतिबन्धका कारण रुसी एयरलाइन्स कम्पनीले भोगेका चुनौती सामना गर्ने उपाय खोज्ने क्रममा रुसले कानून नै बनाएर अमेरिका र युरोपबाट भाडामा ल्याएका विमानहरु कब्जा गरेको हो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सरकारको प्रतिबन्ध विरोधी उपाय सम्बन्धी कानूनमा हस्ताक्षर गरेका छन् । यो कानून अनुसार अब रुसी एयरलाइन्स कम्पनीले विदेशी कम्पनीबाट भाडामा लिएका विमान रुसमा दर्ता गर्न अनुमति दिएको छ । ती विमान रुसी एयरलाइन्सले आन्तरिक रुटमा उडाउन पाउने छन् ।

अमेरिका र युरोपका अधिकांश देशहरुले रुसमाथि प्रतिबन्ध लगाएका छन् । जुन प्रतिबन्ध अनुसार रुसी वायु सेवा कम्पनीलाई भाडामा विमान दिने अमेरिकी र युरोपेली कम्पनीले एक महिना भित्रमा फिर्ता गर्नु पर्ने छ ।

तर रुसले बनाएको नयाँ कानून अनुसार अब विदेशी कम्पनीहरूलाई रुसी सरकारको स्वीकृति बिना आफ्ना विमान पुनः दाबी गर्न कठिन भएको छ ।-एजेन्सी