युक्रेनको महत्वपूर्ण शहर मारिओपोलको केन्द्रमा रुसी सैनिक पुगे, भिडन्त जारी

DELIL SOULEIMAN/AFP via Getty Images

काठमाडौं । रुसी सेना युक्रेनको महत्त्वपूर्ण सहर मारिओपोलको केन्द्रमा पुगेपछि त्यहाँ दुई पक्षबीच सङ्घर्ष भइरहेको अन्त्र्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । रुसी सञ्चारमाध्यमले यसबारे विवरणहरू प्रकाशित गरेको बीबीसीले लेखेको छ । मारिओपोलका नगरप्रमुखले भाडिम बोइचेन्कोले बीबीसीसँग सहरको केन्द्रमा सङ्घर्ष भइरहेको पुष्टि गरेका छन् । शसहरको केन्द्र बाँकी छैन। सहरमा युद्धको प्रभाव परेको नदेखिने एउटा सानो ठाउँ पनि छैन,’ उनले भनेका छन् ।

यद्यपि गत साता रुसी सैनिकहरू युक्रेनमा खासै अघि बढ्न नसकेको सैन्य विश्लेषकहरूले बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी पक्षले गोलाबारी गरिरहेकाले अझै पनि मारिओपोलबाट गैरसैनिक नागरिकलाई सुरक्षित रूपमा अन्यत्र जान बाटो दिन नसकिएको बताएका छन्। मारिओपोलबाट पश्चिमी युक्रेनको ल्भिभमा पुग्न सफल भएका मानिसहरूले रुसले निरन्तर आक्रमण गरिरहेकाले त्यहाँ व्याप्त आतङ्कबारे बताएका छन्।

तीमध्ये एक २८ वर्षीया युलिया याशेन्कोले भनिन्, ‘हाम्रो सहर मेटिँदैछ। गोलाबारीले हाम्रा घरहरू जलाएको छ।’ उनले सहरमा जताततै धुवाँको मुस्लो र शव देखिएको बताइन्। तर ती शव जम्मा गर्ने कोही छैन। रुसले बम आक्रमण गर्न थालेपछि उक्त सहरका ८० प्रतिशतभन्दा बढी आवासीय भवनहरू क्षतिग्रस्त वा ध्वस्त भएको बताइएको छ। दुई सातादेखि झन्डै चार लाख मारिओपोलमा फसेका छन्। यद्यपि युक्रेनी अधिकारीहरूले शुक्रवार झन्डै ५,००० जना त्यहाँबाट बाहिर निस्किएको बताएका छन्।