नयाँ खिम्ची सव-स्टेशनको प्रधानमन्त्रीद्धारा उद्घाटन

रामेछाप । तामाकोशी जलविद्युत आयोजनाको मुख्य सब-स्टेशनका रुपमा रहेको नयाँ खिम्ची सवस्टेशनको शनिबार प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरेका छन् । शेरबहादुर देउवाले रामेछापको मन्थली नगरपालिका वडा नं. १३ को साँखे (फुलासी)मा निर्माण सम्पन्न भएको नयाँ खिम्ती २२०–१३२ के.भी. सबस्टेशन शनिबार उद्घाटन गरेका छन् ।

सबस्टेशन स्वदेशी पूँजीमा निर्माण भएको देशकै ठूलो ४५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको एउटा मुख्य भाग हो । माथिल्लो तामाकोसी आयोजनाले नै निर्माण गरेको यो सब-स्टेशन नेपालमा हालसम्म निर्माण र सञ्चालनमा रहेको ढल्केबरपछिको दोस्रो ठूलो सब-स्टेशन हो।

तामाकोसी र त्यसका सहायक नदी तथा खोलाबाट उत्पादित विद्युत् जोडिने नयाँ खिम्ती सबस्टेशनबाट करिब एक हजार दुई सय मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिने भएको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ४७ किलो मिटर लामो २२० के.भी डबल सर्किट प्रसारण लाइनबाट नयाँ खिम्ती सब-स्टेशन जोडिएको छ ।

माथिल्लो तामाकोसीको अतिरिक्त ६० मेगावाट क्षमताको खिम्ती पहिलो, ५२.४ मेगावाट क्षमताको लिखू चौथो र २४.२ मेगावाट क्षमताको लिखू खोला ’ए’ बाट उत्पादित विद्युत् यही सब-स्टेशनमा जोडिएको छ । नयाँ खिम्ती सब-स्टेशनमा जोडिएको विद्युत् ७६ किलोमिटर २२० केभी प्रसारण लाइनबाट धनुषाको ढल्केवरस्थित ४००–२२०–१३२ केभी सबस्टेशनमा लगिएको छ । ढल्केबरबाट मुलुकभित्र खपतका लागि पूर्व–पश्चिम पठाइएको छ भने बढी भएको विद्युत ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गरिन्छ ।