काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरु आआफ्नो रणनीतिमा लागेका छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भने सार्वजनिक कार्यक्रममा बाक्लै उपस्थित हुन थालेका छन् । उनी पछिल्लो समय स्थानीय तहका प्रशासनिक भवनको उद्घाटनमा बढी सक्रिय देखिएका छन् । अघिल्लो साता नुवाकोटमा विभिन्न स्थानीय तहको भवन उद्घाटनमा पुगेका प्रधानमन्त्री देउवा शनिबार रामेछाप, दोलखा र काभ्रेपलान्चोक जिल्लाको भ्रमणमा निस्किए ।
सो क्रममा उनले तेमाल गाउँपालिकामा शनिबार प्रशासकीय भवनको उद्घाटन कार्यक्रममा सहभागी भएका उनले आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताए । प्रधानमन्त्री शनिकार खिम्ची सवस्टेशनको उद्घाटनका लागि सो भेगमा पुगेका थिए । जनता उपस्थित हुने सार्वजनिक कार्यक्रममा कमै जान रुचाउने प्रधानमन्त्रीले निर्वाचन नजिकिएपछि भने जनताबीच पुग्ने माध्यम उदघाटनलाई बनाएका छन् ।
शनिबार प्रशासकीय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनलाई सबै पक्षले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने आवश्यकता रहेको बताए । जनप्रतिनिधिले जनसवालका काम मात्र गरेर नहुने भएकाले काममा पारदर्शिता, गुणस्तरीयता, जवाफदेहिता र जनताको अपनत्व पनि सुनिश्चित गर्नसमेत आवश्यक रहेको उनको भनाई छ ।