काठमाडौं । नेपालमा नयाँ संविधान जारी भएर निर्वाचनपछि कम्यूनिष्ट नेतृत्वमा सरकार गठन भएको डेढ वर्ष पुरा भइसकेको छ ।
यसबीचमा चीन सरकारको तर्फबाट नेपालमा पहिलो पटक उच्चस्तरीय भ्रमण हुन लागेको छ । चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने नेपाल भ्रमणको सिलसिलामा आज नेपाल आउँदैछन् ।
पाकिस्तानमा एक सम्मेलन पुरा गरी उनी नेपाल आउन लागेका हुन् । नेपालमा उनी तीन दिन सम्म रहँदा उच्च स्तरीय भेटवार्ताको कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी गराएसकेको छ ।
उनको नेपाल भ्रमण चिनियाँ राष्ट्रपति सी जिनफिङको निकट भविश्यमा हुने नेपाल भ्रमणको तयारीका रुपमा दुबै मुलुकले उपयोग गर्दैछन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । मन्त्रालयका अनुसार चीनबाट १९ सदस्यीय टोली नेपाल आउन लागेको छ ।
विदेशमन्त्री वाङले आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जारी गरेको तालीकामा उल्लेख छ ।
भेटमा द्धिपक्षीय विविध विषयले प्राथमिकता पाउने भएका छन् । सोमबार समकक्षी प्रदीप ज्ञवालीसँग औपचारिक द्धिपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ ।
सोही दिन मन्त्री ज्ञवालीले विदेशमन्त्रीको स्वागतमा रात्री भोज समेत आयोजना गर्नेछन् । विदेशी मन्त्री वाङ दोस्रो पटक नेपाल आउन लागेका हुन् । उनी सन् २०१४ मा नेपाल आएका थिए ।