८ महिनामा १ लाख २५ हजार विदेशीले नेपालको भिसा पाउँदा २११ जना निस्काशित

Photo : CGTN

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिना (साउनदेखि–फागुन)को अवधिमा नेपाल आउन १ लाख २५ हजार ६५८ जना विदेशी नागरिकले भिसा लिएका छन् । यसमा नेपाली नागरिकता त्याग गरेका गैरआवासीय नेपालीको संख्या समेत समावेश छ । अध्यागमन विभागको तथ्यांक अनुसार यस अवधिमा नेपालले २११ जना विदेशी नागरिकलाई भने निष्कासन गरेको छ । नेपालमा भिसा सकिएपछि पनि बसिरहने र आपराधिक गतिविधिमा संलग्न विदेशी नागरिकलाई निष्कासन गरिन्छ ।

विभागका अनुसार फागुन महिनामा मात्रै १३ जना विदेशी नागरिक निष्कासनमा परेका छन् । यो अवधिमा कुल १ लाख २५ हजार ६५८ जनालाई भने नेपाल आउन भिसा पाएका छन् । यसमध्ये पर्यटक भिसामा १ लाख १३ हजार ६२७ जना आएका छन् । २ हजार ४ जना विदेशी नागरिक व्यवसायिक भिसामा नेपाल आएका छन् । ६ जनाले नेपाललाई ट्रान्जिट बनाएर आएका छन् । वैवाहिक भिसामा ९४३ जना विदेशी नेपाल आएका छन् ।

अध्ययन भिसामा भने ८९३ जना विदेशी नेपाल आएको देखिएको छ । आवासीय भिसामा ११, गैरआवासीय भिसामा १२८६, नाता भिसामा ३८०८, कामदार भिसामा १७८१, कुटनीतिक भिसामा ४३६, अफिसियल भिसामा ५३८, प्रेस भिसामा ३ र अन्यमा ३२२ जनाले भिसा पाएको देखिएको छ । फागुन महिनामा मात्र २४ हजार १९८ जनाले नेपाल आउन भिसा पाएको विभागको तथ्यांक छ ।