मेलम्चीको पानी पुनः काठमाडौं आउने सम्भावना बढ्यो

Photo source : Nimesh Regmi\Setopati

काठमाडौं । अघिल्लो वर्षायाममा बाढी र पहिरोले क्षतिग्रस्त बनाएको मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य अहिले तिव्र गतिमा भइरहेको छ । असार १ र साउन १७ गतेको बाढीपहिरोले मेलम्चीमा ठूलो क्षति गरेको थियो । मेलम्ची खानेपानी आयोजनाको सुरुङको सफाइ अन्तिम चरणमा पुगेको छ । सफाइ सकिएसँगै पानी परीक्षण गरी सुन्दरीजल पठाउने तयारी भएको छ । पहिरोसँगै आएको बाढीले परियोजनाको प्रवेशद्वारदेखि अम्बाथानसम्मको ८०५ मिटर सुरुङ र सुरुङभित्र प्रवेश गर्ने अन्य सहायक ढोकासमेत बन्द भएका थिए ।

पहिरोसँगै आएको गेग्य्रानले आयोजनाको मुख्य द्वार (बफर जोन) नौ नम्बर, १० नम्बर ढोका (हेडवक्र्स), अम्बाथानतर्फका १७ र २१ का ढोका (अडिट टनेल) पूरै थुनेको थियो । सुरुङसम्म पुग्ने सहायक ढोकासमेत लेदोले पुरिएपछि आयोजना सञ्चालन हुने नहुनेबारे समेत अन्योल भएको थियो । मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर पदम कुँवरले सफाइको काम अन्तिम चरणमा पुगेको बताएका छन् ।

बाढीले बढी क्षति गरेको १ नम्बर ढोकादेखि हेडवक्र्ससम्मको सफाइ सकिएसँगै भित्र पानी पठाएर लेदो निकाल्ने काम अहिले जारी छ । मुख्य हेडवक्र्सको ढोका खुलेको र मुख्य ढोका बफर ड्यामबाट ३८ नम्बरको ढोका हुँदै अम्बाथानको अडिट टनेलको २१ ढोकाबाट पानी बाहिर पठाएर सुरुङ सफाइको तयारी भइरहेको आयोजनाले जनाएको छ । सरकारले बाढीले पुयाएको क्षतिको पुनर्निर्माण र सुरुङको सफाइ गरी यही चैत मसान्तभित्र काठमाडौँमा पानी ल्याउने लक्ष्य राखेको छ ।