पर्यटनमन्त्री आले र बलिउड अभिनेता सलमान खानबीच भिडियो वार्ता, के भयो कुराकानी ?

काठमाडौं । पर्यटनमन्त्री प्रेम आले र अभिनेता सलमान खानबीच मंगलबार भर्चुअल संवाद भएको छ । उनीहरु झण्डै १० मिनेट भिडियोको माध्यमबाट जोडिए । सो क्रममा फिल्मी कहानीदेखि सलमानलाई नेपाल भ्रमणको निमन्त्रणसम्मका सन्दर्भ जोडिए । नेपालको पर्यटन प्रवद्र्धनमा सलमान खानलाई सहभागी गराउने एक अयिभानेका प्रयास थियो, भर्चुअल संवाद ।


आगामी जेठ १४ गते काठमाडौंको दशरथ रंगशालामा आयोजना हुन लागेको ‘द ब्याङ रिलोडेड टुर’को जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री आले र अभिनेता खानबीच संवाद भएको हो । मन्त्री आलेले सलमानलाई भिडियोमा स्वागत गर्दै हिन्दी, मराठी र अंग्रेजी सम्म बोले । मराठी भासामा समेत दुईबीच कुराकानी भएको छ । त्यसक्रममा सलमानले आफू एक फिल्मको सुटिङमा नेपाल आएको, तर त्यो फिल्मको छायांकन हुन नसकेपछि फर्किएको किस्सा सुनाए । यसपटक आउने मेसो मिलेकाले सम्पूर्ण टिम खुसी भएको उनको भनाई छ ।

मन्त्री आलेले पटक(पटक आफू सलमानको ठूलो फ्यान भएको दोहोर्याए । उनले सलमानका फिल्म र सिरिज नेपालमा छायांकन गर्न सरकारले सघाउने समेत बताए । कोरोना महामारीले थलिएको नेपाली पर्यटनलाई सघाउन द ब्याङ टुर उपयोगी हुने आशा आलेले व्यक्त गरे । उनले सलमानलाई सगरमाथा आरोहण, माउन्टेन फ्लाइटदेखि सगरमाथामा ब्रेकफास्टको समेत निम्ता दिए । जवाफमा सलमानले निम्ता स्वीकार गरे ।