चिनियाँ विदेश मन्त्री तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउदै

काठमाडौं ।  चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा शुक्रबार  काठमाडौं अवतरण गर्दैछन् । बिहिवार अफगानिस्तानको काबुलबाट भारत झरेका उनी नयाँ दिल्लीबाट काठमाडौं आउन लागेका हुन् ।

नेपालमा शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएपछि आउने उनी पहिलो उच्चस्तरीय पाहुना हुन् ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले बताएको छ । नेपाल बसाइको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री खड्का र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने छन् । उनी आइतबार स्वदेश फर्कने छन् ।

भेटवार्ताको क्रममा चीनले अघि सारेको पूर्वाधार विकास परियोजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’अन्तर्गत सहयोगका परियोजना कार्यान्वयनका विषयमा केन्द्रित रहेर विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डलसँग नेपालले छलफल गर्ने भएको छ । उनी दोस्रोपटक नेपाल भ्रमणमा आउन लागेका हुन् ।