काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा विमानस्थल परियोजना नेपाललाई हस्तान्तरण गरेका छन् । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्दै उनले सो विमानस्थल हस्तान्तरण गरेका हुन् । शनिबार साँझ बालुवाटारमा उनीहरूबीच भेट भएको थियो । भेटमा परराष्ट्रमन्त्री नारायण खड्का पनि सहभागी भए । चीन सरकारको सहुलियतपूर्ण २२ अर्ब ऋणमा पोखरा विमानस्थल निर्माण गरिएको हो। विमानस्थल निर्माणको ठेक्कासमेत चीन सरकारकै स्वामित्वमा रहेको कम्पनी सिएएमसीईले पाएको थियो।
राष्ट्रिय गौरवको आयोजनामा समावेश विमानस्थलको भौतिक प्रगती ९३ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ७४ प्रतिशत पुगेको आयोजनाले जनाएको छ। नेपाल सरकारले विमानस्थलको काम २०२१ जुलाई १० भित्र सक्ने कार्यादेश चिनियाँ कम्पनी सिएएमसीईलाई दिएको थियो। कम्पनीले सरकारले दिएको म्यादभन्दा ६ महिना अगावै आयोजना निर्माण गरेर सरकारलाई हस्तान्तरण गर्ने बताउँदै आएको थियो।
तर कोभिड–१९ महामारीका कारण आयोजनालाई आवश्यक सामाग्री आयात गर्न लगायतका समस्या थपिएपछि १ वर्ष म्याद थपिएको थियो। यसअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी नेतृत्वका टोलीबीच द्वीपक्षीय औपचारिक वार्तापछि विभिन्न समझदारी पत्रहरूमा हस्ताक्षर भएको थियो ।