नेपाल, पीएनजी र मलेसियाबीच आजबाट टी-२० सिरिज, पहिलो खेलमा नेपाल र पीएनजी भिड्दै

काठमाडौं । नेपाल, मलेसिया र पपुवा न्युगिनी (पीएनजी) सहभागी भएको त्रिदेशीय टी २० सिरिज आजबाट काठमाडौंमा सुरु हुँदैछ । डबल राउण्ड रोबिनको आधारमा हुने श्रृङ्खलाको पहिलो खेलमा नेपाल र पपुवा न्युगिनी सोमबार भिड्दैछन् । खेल कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजेबाट शुरु हुनेछ ।

यसअघि नेपाल र पीएनजी एक पटक टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा खेलिसकेका छन् । सन् २०१५ मा नेपालले आईसीसी टी–२० विश्व कप छनोट प्रतियोगितामा पीएनजीसँग खेलेको थियो । ७ वर्षअघि भएको खेलमा नेपाल ८ विकेटले हारेको थियो । नेपालले दोस्रो खेल बुधबार मलेसिया र बिहीवार पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने छ ।