कोरोना संक्रमित बढेपछि चीनको सांघाईमा लकडाउन

काठमाडौं । चीनमा कोरोनाभाइरसका नयाँ सङ्क्रमित पुष्टि हुने सङ्ख्या निरन्तर रूपमा बढेसँगै दोस्रो ठूलो शहर सांघाईमा लकडाउन घोषणा भएको छ । बीबीसीका अनुसार सांघाईमा पनि सङ्क्रमितको सङ्ख्या वृद्धि भएसँगै त्यहाँ लकडाउन घोषणा गरिएको हो । दुई वर्षभन्दा अगाडि कोरोनाभाइरसको महामारीयता घोषणा गरिएको यो सबैभन्दा ठूलो लकडाउन हो। नौ दिनको समयावधिमा दुई चरणमा लकडाउन गरिनेछ।

सहरको पूर्वी आधा भागमा बस्ने आधा मानिसहरूलाई पाँच दिनसम्म अर्थात् एप्रिल १ सम्म घरभित्रै बस्न भनिएको छ। अत्यावश्यकीय सेवामा कार्यरतलाई मात्रै काम गर्न छुट दिइएको छ र सार्वजनिक यातायातका सेवाहरूमाथि रोक लगाइएको छ। उद्योग तथा कम्पनीहरूले पनि आफ्नो काम स्थगित गर्नुपर्नेछ अथवा कार्यालय बाहिरैबाट काम गर्नुपर्नेछ। सांघाईको पश्चिमी आधा भागमा शुक्रवारबाट लकडाउन गरिनेछ। ठाउँ ठाउँ छुट्याएर मानिसहरूको ठूलो सङ्ख्यामा परीक्षण गरिँदैछ र सङ्क्रमण देखिनेलाई अस्पताल वा क्वारन्टीनमा पठाइनेछ।

चीनको एकदमै महत्त्वपूर्ण व्यापारिक केन्द्रले झण्डै एक महिनादेखि कोरोनाभाइरस सङ्क्रमणको नयाँ लहरको सामना गरिरहेको छ। यद्यपि त्यहाँ देखिएको सङ्क्रमितको सङ्ख्या केही अन्तर्राष्ट्रिय मापदण्डले तोकेभन्दा धेरै होइन। अढाई करोड जनसङ्ख्या रहेको सहरमा अधिकारीहरूले अर्थतन्त्रमा असर पर्न नदिन धेरै कोसिस गरेका थिए।

तर शनिवार त्यहाँ महामारीका सुरुका दिनमा देखिएयता उच्च सङ्ख्यामा सङ्क्रमित देखिएपछि अधिकारीहरूले लकडाउन गर्ने निर्णय लिएको देखिएको छ। अधिकारीहरूले लकडाउनसम्बन्धी सुझावहरू वीच्याटमा प्रकाशित गरेका छन्। उनीहरूले सर्वसाधारणलाई महामारीबाट जोगिने र त्यसलाई नियन्त्रण गर्ने काम बुझेर त्यसमा सहयोग र समर्थन गर्न पनि भनेका छन्।