परराष्ट्र मन्त्री खड्का कोलम्बोमा

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक)को सम्मेलनमा सहभागी हुन परराष्ट्र मन्त्री नारायण खड्का श्रीलंकाको राजधानी कोलोम्बो पुगेका छन्। मन्त्री खड्का मंगलबार हुने बिमस्टेकका परराष्ट्र मन्त्रीस्तरीय बैठकमा सहभागी हुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । बैठकमा श्रीलंकासहित बंगलादेश, भारत, भुटान, नेपाल र थाइल्यान्डका मन्त्रीहरू सहभागी छन् । म्यानमारका विदेश मन्त्री भर्चुअल रूपमा सहभागी हुने बताइएको छ । सोमबार कोलोम्बोमा बिमस्टेक उच्च अधिकारीहरूको बैठक भएको थियो।

उक्त बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव घनश्याम भण्डारीले गरे । श्रीलंकामा बुधबार बिमस्टेकको पाँचौं शिखर सम्मेलन हुँदैछ। राष्ट्रपति गोटवाया राजापाक्षेले अध्यक्षता गर्ने शिखर सम्मेलनमा सदस्य राष्ट्रका सरकार र राष्ट्रप्रमुख भर्चुअल्ली सहभागी हुने भएका छन् । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शिखर सम्मेलनमा भिडियोका माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम छ।