काठमाडौं । काठमाडौंको वसन्तपुरस्थित गद्दी बैठक आजबाट साधारण नागरिकको अवलोकनका लागि खुला भएको छ । दिउँसो ४ बजे संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गद्दी बैठकको उद्घाटन गर्ने भएका छन् । २०७२ वैशाखको भूकम्पले क्षति पुर्याएको गद्दी बैठक पुनर्निर्माण पछि पहिलो पटक सर्वसाधारण नागरिकले हेर्न सक्ने गरि खुला हुन लागेको हो । गद्दी बैठकसँगै ऐतिहासिक हातहतियार र वृत्तचित्र समेत हेर्न सकिने भएको छ ।
गद्दी बैठकको पुननिर्माण सम्पन्न गरेर २०७५ साल असार १३ गते अमेरिकी सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । त्यहीदिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गद्दी बैठकको उद्घाटन गरेका थिए । गद्दी बैठक तत्कालीन प्रधानमन्त्री चन्द्र शम्शेरको पालामा नवशास्त्रीय शैलीमा बनेको हो । विदेशी राष्ट्रअध्यक्षहरुको स्वागतमा विशेष समारोह आयोजना यसै बैठकमा गरिन्थ्यो।