आयल निगम जोगाउन सरकारसँग आइतवार सार्वजनिक बिदा र जोरविजोरसहित १० बुँदे प्रस्ताव

काठमाडौं । नेपाल आयल निगमले एकैपटक पेट्रोलियम पदार्थको मूल्य समायोजना गर्न दिन प्रस्ताव गरेको छ । निगमले सरकारलाई पत्र लेख्दै अब उप्रान्त पेट्रोल, डिजल, मट्टितेल तथा एलपी ग्यासमा प्रति युनिट जे जति घाटा हुन्छ सो एकै पटकमा समायोजन गर्न दिन अनुरोध गरेको हो ।

निगमले सरकारसँग इन्धनको मूल्य वृद्धिबाट सृजित संकटबाट जोगाउन विभिन्न १० बुँदे माग पेश गरेको छ । निगमले सार्वजनिक तथा सरकारी सवारी साधनको प्रयोग घटाएर इन्धनको खपत कम गर्ने गरी थप एक दिन बिदा दिन प्रस्ताव गरेको हो ।

अत्यावश्यक क्षेत्रबाहेक सरकारी र निजी सवारी साधनमा जोर बिजोर लागू गर्न तथा आइतबार पनि सार्वजनिक बिदा दिन आग्रह गरेको हो ।

यस्तै, सरकारी बैंकहरु, नागरिक लगानी कोष, संचय कोष जस्ता संस्थाहरुबाट, निगमलाई आवश्यक पर्ने रकम सहज र सरल रुपमा उपलब्ध गराउने व्यवस्थाका लागि अर्थ मन्त्रालयले प्रत्यक्ष रुपमा सहयोगी भूमिका खेल्न आग्रह गरेको छ ।

यसैगरी, निगमले पेट्रोलियममा भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार विकास शुल्क घटाउन माग गरेको छ । पेट्रोलियममा प्रतिलिटरमा १५ रुपैयाँ मूल्य कर घटाउन र ग्याँसमा २०० रुपैयाँ कम गर्न निगमले सरकारसँग माग गरेको छ ।

यस्तै इन्धन खरिदको भुक्तानी गर्न निगमलाई आवश्यक पर्ने थप रकम जोहोको व्यवस्था गर्न, बढेर आएकै मूल्य बराबरमा मूल्य बढाउनु पाउनु पर्ने तथा सबै प्रकारका सवारी साधनहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न दिने व्यवस्था गर्न पनि माग गरिएको छ ।

यसैगरी, पेट्रोल र डिजलबाट चल्ने सवारी साधनको आयातलाई निरुत्साहित गरी विद्युतिय सवारी साधन आयातलाई प्रोत्साहन गर्न, खाना पकाउने एलपी ग्यासको प्रयोग नगरी बिजुली प्रयोग गर्न नेपाल सरकारबाटै सार्वजनिक आह्वान गर्न माग गरेको छ ।