घोडे जात्रा आज, काठमाडौंमा सार्वजनिक बिदा

Photo : NTB

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व शुक्रबार मनाइँदैछ । यस दिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने गर्छ ।
नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । टुँडिखेलमा नेपाली सेनाले आयोजना गर्ने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति लगायतका विशिष्ट व्यक्तित्व सहभागी हुन्छन् । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो ।

पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो ो। यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो ।

साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ । आजकै दिन ललितपुरमा पनि एउटा आँखा नदेख्ने घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।घ