आइओसीको नयाँ मूल्यपछि नेपालमा इन्धनको भाउ के होला ?

काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आइओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएपछि मूल्य बढ्ने भयका कारण शुक्रबार काठमाडौंका पेट्रोल पम्पमा लामो लाइन लागेको छ । अर्कोतर्फ आइतबारबाट व्यवसायीले बिक्रि वितरण समेत रोक्ने चेतावनी दिएका कारण समेत पम्पमा लामो लाइन लागेको हो । शुक्रवार पठाएको मूल्यसूचीअनुसार पेट्रोलको मूल्य केही घटेको छ । डिजल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने बढेको नेपाल आयल निगमले उल्लेख गरेको छ ।

निगमले निकालेको विज्ञप्तिअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ४८ पैसा घटेको छ । डिजल भने लिटरमा शून्य दशमलव ०२ पैसा बढेको छ । यस्तै मट्टीतेल २२ रुपैयाँ नौ पैसा र हवाई इन्धन चार रुपैयाँ २३ पैसा बढेर आएको छ । खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर दुई सय ७३ रुपैयाँ ३८ पैसा बढेर आएको छ ।


नयाँ मूल्य र अहिलेको मूल्य तथा खपतको हिसाब गर्दा निगमलाई अबको १५ दिनमा झन्डै पाँच अर्ब २१ करोड नोक्सान रहने छ । नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २७ रुपैयाँ सात पैसा, डिजलमा ३२ रुपैयाँ १७ पैसा र ग्यासमा प्रतिसिलिन्डर नौ सय ५३ रुपैयाँ ६६ पैसा नोक्सान छ । मट्टीतेलको हकमा एक रुपैयाँ ९९ पैसा, हवाई इन्धनमा १२ रुपैयाँ ८४ पैसा फाइदा रहेको छ ।