काठमाडौं । नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियामाथि ८५ रनको प्रभावशाली जित निकाल्यो । अब उपाधिका लागि नेपालले सोमबार पपुवा न्युगिनी .(पीएनजी)को सामना गर्नेछ । मलेसिया नेपालसँग पराजित भएपछि पीएनजीले नेट रनरेटका आधारमा मलेसिया भन्दा अगाडी रहेको हो ।
अपराजित नेपालले चार खेलबाट आठ अंक बनायो । पीएनजी र मलेसियाले दुई दुई अंक बनाएका छन् । दुई सय २४ रनको विशाल विजय लक्ष्य पछ्याएको मलेसिया १९.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३८ रनमा समेटियो । नेपालका लागि सन्दीप लामिछानेले तीन, कमल ऐरी र दीपेन्द्रसिंह ऐरीले दुई दुई तथा कुशल भुर्तेल र रोहित पौडेलले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २२३ रनको विशाल योगफल प्रस्तुत गरेको थियो । नेपालका मध्यक्रममा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अविजित शतकीय इनिङ्स खेलेपछि घरेलु टोलीले जितको आधार तय गरेको हो । ऐरीले अविजित ११० रन बनाउँँदा ५७ बलमा १० चौका र ६ छक्का प्रहार गरे । उनी नेपालबाट टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने चौथो खेलाडी बने । यसअघि पूर्वकप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले टी–२० मा शतक प्रहार गरेका छन् ।