चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने गठबन्धनको निर्णय

काठमाडौं । पाँच दलीय गठबन्धनले चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । सोमबार बसेको गठबन्धनको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राजमोबीच स्थानीय तह र जिल्ला समन्वय समितिमा तालमेल गर्ने सहमति भएको हो ।

चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने सहमति पत्रमा कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका इञ्चार्ज कृष्ण प्रसाद खनाल, जसपा अध्यक्ष प्रेम भुजेल र राजमो अध्यक्ष डम्बर पुरीले हस्ताक्षर गरेका छन् ।

बैठकपछि जारी प्रेस विज्ञप्तिमा गठबन्धनमा सहभागी दलहरुबीच गठबन्धनको मर्म र भावना अनुरुप एक आपसमा सम्मान र हार्दिकताको विकास गर्दै संयुक्त रुपमा आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय भएको उल्लेख छ । तालमेलका सन्दर्भमा संयुक्त संयन्त्र निर्माण गरी छलफल प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।

सरकारले स्थानीय तहको निर्वाचनका मिति अगामी वैशाख ३० गते तोकेको छ । स्थानीय तहको मिति नजिकिए सँगै राजनीतिक दलहरुले चुनावको तयारीमा तिव्रता दिएका छन् ।