काठमाडौं । विश्वकै धनाढ्य व्यक्ति तथा विद्युतीय कार निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्कले ट्वीटरको सबैभन्दा ठूलो सेयरधनी बनेका छन् ।
मस्कले सामाजिक सञ्जाल ट्वीटरको ९.२ प्रतिशत सेयर स्वामित्व किन्दै सबैभन्दा ठूलो सेयरधनी बनेका हुन् । टेस्लाका प्रमुख कार्यकारी अधिकृत मस्कले ७ करोड ३४ लाख ८६ हजार ९३८ कित्ता सेयर किनेका हुन् । उक्त सेयरको मूल्य शुक्रबार २ अर्ब ८९ करोड अमेरिका डलर थियो।
मस्कले सेयर खरिद गरेसँगै सोमबार न्यूयोर्क ट्रेडिङमा ट्वीटरको सेयर मूल्य २७ प्रतिशतले बढेको थियो। मस्कले २ अर्ब ८९ करोड डलरमा किनेको ट्वीटरको सेयर मूल्य बढेर ३ अर्ब ७ करोड डलर पुगेको छ ।
ट्वीटरका संस्थापक ज्याक डोर्सेसँग २.२५ प्रतिशत सेयर छ । मस्कसँग उनीभन्दा चार गुणा बढी सेयर पुगेको छ । यस्तै, ट्वीटरको ८.८ प्रतिशत सेयर स्वामित्व म्युचुअल फण्ड कम्पनी भ्यानगार्डको रहेको छ ।
मस्कसँग ८ करोड फलोअर्स छन्। उनले केही दिन अघि नयाँ सामाजिक सञ्जाल निर्माण गर्ने प्रतिक्रिया दिएका थिए।