सोमबार एमाले प्रवेश गरेका बेनिघाट गाउँपालिकाका अध्यक्ष पित्तबहादुर मंगलबार माओवादी मै फर्किए

काठमाडौं । सोमबार नेकपा एमालेमा प्रवेश गरेका धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) मंगलबार भने नेकपा माओवादी केन्द्रमा मै फर्किएका छन् । उनले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट माला लगाएका थिए । तर, मंगलबार भने विज्ञप्ति नै निकालेर आफू माओवादी केन्द्रमा मै रहेको उल्लेख गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘म भित्र क्षणिक आक्रोश र आवेगमा आई राजनीतिक रुपमा गम्भीर गल्ती कमजोरी हुन गई समग्र पार्टी, बेनिघाट रोराङ र धादिङको पार्टी पंक्तिमा पर्न गएको क्षतिप्रति गम्भीर आत्माआलोचना गर्न चाहन्छु ।’ उनी झण्डै १५ वर्ष अगाडि एमाले नै थिए । माओवादी शान्ति प्रक्रियामा आएसँगै उनी माओवादी बनेका थिए । गत स्थानीय तहको निर्वाचनमा धादिङबाट स्थानीय तहको प्रमुख पदमा निर्वाचित हुने उनी माओवादीका एक्ला उम्मेदवार थिए ।