काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको छ । आइबारदेखि लगातार दोहोरो अंकले घटेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । यस साताको चार दिनमा नेप्से झन्डै ११५ अंकले घटेको हो ।
सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ६६ करोडले घटेर २ अर्बभन्दा कममा सीमित भएको छ ।
बुधबार सेयर बजार मापक सूचक नेप्से २३.३२ अंकले घटेर २४२८.७५ विन्दुमा आइपुगेको छ । यसदिन २२६ कम्पनीको १ अर्ब ९९ करोड २९ लाख ७१ हजार ७६४ रुपैयाँ बराबरको ४३ लाख ७२ हजार १७१ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये होटल, अन्य र सामूहिक लगानी कोष समूह बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । होटल समूह सबैभन्दा धेरै २.०६ प्रतिशतले बढेको छ भने व्यापार समूह सबैभन्दा धेरै २.७६ प्रतिशत घटेको छ ।
आज करोबारमा आएको २२६ कम्पनीमध्ये जम्मा ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७१ कम्पनीको घटेको छ । १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको ९ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, राष्ट्र उत्थान लघुवित्त ९ करोड र नबिल बैंक साढे ६ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
उच्च अंकले घटेको बजारमा आज नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत बढेको छ ।
घट्दो बजारमा आज इमर्जिङ नेपालको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले घटेको छ ।
त्यसैगरी, राष्ट्र उत्थान लघुवित्तको ५.४७, बुद्धभूमि नेपाल ४.०१७, नयाँ सारथी लघुवित्त ३.९२, शिखर इन्स्योरेन्स ३.७५, माउन्टेन हाइड्रो, स्वाभिमान लघुवित्त, सबैको लघुवित्त, गोर्खा फाइनान्स, आइसीएफसी फाइनान्सको सेयर मूल्य ३ प्रतिशतले घटेको छ ।