भारतमा थप ३२५ मेगावाट बिजुली बेच्न नेपालले पायो अनुमति

काठमाडौं । नेपालले भारतीय बजारमा थप ३२५ मेगावाट बिजुली बेच्न अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गत केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय बजारमा प्रतिस्पर्धामार्फत थप ३२५ मेगावाट बिजुली विक्री गर्न अनुमति दिएको हो ।

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरेर थप ३२५ मेगावाट बिजुलीलाई भारत निर्यात गर्न अनुमति पाएको जानकारी दिएको हो ।

योसँगै अब नेपालले कुल ३६४ मेगावाट बिजुली भारत निर्यात गर्न पाउने भएको छ । यसअघि गत कात्तिकमा नेपालले ३९ मेगावाट बिजुली भारत निर्यातका लागि अनुमति पाएको थियो ।

गत साता प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा नेपालको थप बिजुली विक्रीका लागि बाटो खुलाउने बताएका थिए । लगत्तै भारतको ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिरकण र निजी क्षेत्रले बनाएका आयोजनाको बिजुली विक्री गर्न अनुमति दिएको हो ।

मन्त्रालयका अनुसार नेपालले दोस्रो चरणमा प्राधिकरणको स्वामित्वको १४४ मेगावाटको ‘कालीगण्डकी ए’बाट १४० मेगावाट, ७० मेगावाटको मध्यमस्र्याङ्दीबाट ६८ मेगावाट, ६९ मेगावाटको मस्र्याङ्दीबाट ६७ मेगावाट र निजी क्षेत्रको ग्रीन भेन्चर्स लिको ५२.४ मेगावाटको लिखु–४ बाट ५१ मेगावाट गरी कुन ३२६ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको हो ।

यसअघि नेपालले पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत्गृहबाट उत्पादित ३९ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइआइएक्स)मा विक्री गर्न अनुमति पाएको थियो ।

प्राधिकरणले योसँगै ६ वटा विद्युत्गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा विक्रीका लागि स्वीकृति पाएको हो । देशभित्र खपत गरेर जगेडा भएको विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत निर्यात हुने छ ।

विद्युत् निर्यात गर्ने बाटो खुलेसँगै वर्षायाममा उत्पादित विद्युत मुलुकभित्र खपत गरी अतिरिक्त विद्युत्को निर्यात भई दुई देशबीचको व्यापार घाटामा कमी आई अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने मन्त्रालयले जनाएको छ ।