पाकिस्तानमा संसद विघटन गर्ने इमरान खानको निर्णय उल्टियो, अब विश्वासको मतको सामना गर्नुपर्ने

इश्लामावाद । पाकिस्तानमा संसद (नेश्नल एसेम्ब्ली) त्यहाँको सर्वोच्च अदालतबाट पुनस्र्थापना भएको छ । प्रधानमन्त्री इमरान खानविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा भोटिङ गराउन समेत अदालतले आदेश गरेको छ । उपसभामुख कासिम सुरीको अविश्वास प्रस्ताव खारेज गरेपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद भंग गर्दै मध्यावधि निर्वाचन घोषणा गरेका थिए ।

तर सर्वोच्च अदालतलका प्रधानन्यायाधीश उमर अता बान्दियाल नेतृत्वको पाँचसदस्यीय बेञ्चले अविश्वास प्रस्ताव खारेज गर्ने उपसभामुख कासिम सुरीको निर्णयलाई असंवैधानिक ठहर गरेको छ । प्रधानमन्त्री खानले संसद भंग गर्न राष्ट्रपतिलाई सिफारिस गर्न नसक्ने ठहर गर्दै संसद पुनर्स्थापना गरेको छ । साथै ९ अप्रिलमा अधिवेशन बोलाउन र अविश्वास प्रस्तावमाथि भोटिङ गराउन भनेको छ । अदालतको यो फैसला प्रधानमन्त्री इमरानका लागि ठूलो झड्का हो । विपक्षी नेताहरुले भने अदालतको फैसलाको स्वागत गरेका छन् । विपक्षी नेता मौलाना फजलुर्रहमानले जनताको जीत भएको बताएका छन् ।