एमालेले भन्यो-‘गठबन्धनले अर्थतन्त्रलाई जोखिममा धकेल्यो,समस्या समाधान नगरे श्रीलंकाकै हालत’

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले ‘गठबन्धन सरकारले अर्थतन्त्रलाई जोखिममा धकेलेको बताएका छन् ।

नेकपा एमालेको प्रचार विभागले आयोजना गरेको कार्यक्रममा प्रमुख प्रतिपक्षी दल एमालेले पूर्वअर्थमन्त्रीले गठबन्धन सरकारले मुलुकको अर्थव्यवस्था जोखिममा धकेलेको बताएका हुन् ।

उनले मुलुकको आर्थिक अवस्था जोखिमउन्मुख रहेको भन्दै सार्थक हस्तक्षेप नगरेमा मुलुक श्रीलंकाजस्तै हुनबाट कसैले रोक्न नसक्ने दाबी गरे ।

उनले एमालेले सुदृढ अर्थतन्त्र छाडेर विदा भएको तर अहिलेको सरकारले ९ महिनामै आर्थिक अवस्था अत्यन्त जोखिमको अवस्थाबाट गुज्रिएको दावी गरे ।

पूर्व अर्थमन्त्री विष्णु पौडेलले भने, ‘सचेत भएर सार्थक हस्तक्षेप गर्न सकेनौं भने मुलुक श्रीलंका हुनबाट रोक्न सक्दैन ।’

उनले प्रधानमन्त्री, अर्थमन्त्रीले श्रीलंका हुँदैन भनेर दाबी गर्नुको कुनै अर्थ नरहेको बताए । अर्थतन्त्रमा परेका समस्या समाधानका लागि छिटो सम्बोधन गर्नुपर्नेछ ।

‘हामीले सरकार छाड्दा मूल्यवृद्धि चार प्रतिशत तल थियो । रेमिट्यान्स बढीरहेको थियो र विदेशी मुद्रा सञ्चिति १४ खर्ब रुपैयाँ बराबर थियो, जसले ११ महिनाको आयात धान्न पुग्थ्यो,’ पूर्वअर्थमन्त्री पौडेलले भने, ‘शुरुका वर्षमा हामीले ७ प्रतिशतको आर्थिक वृद्धिदर पनि हासिल गरेका हौं ।’