काठमाडौं । रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा समीक्षा बाँस्कोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सोमबार बसेको विवेकशील साझाको केन्द्रीय समिति बैठकले बागमती प्रदेशकी पूर्व संयोजक समेत रहेकी बाँस्कोटालाई काठमाण्डको मेयरमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।
त्यस्तै बैठकले कीर्ति तुलाधरलाई उपमेयर पदको उमेदवार बनाउने निर्णय गरेको छ । ‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाऊँः राजधानीको गौरव पुनर्स्थापित गरौँ” भन्ने नाराका साथ दुईजना महिला उमेदवार अघि सार्ने निर्णय भएको अध्यक्ष मिश्रले जानकारी दिए ।
३८ वर्षीय बास्कोटाले काठमाडौं स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमैं स्नातकोत्तर गरेकी छिन् । उनी गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उमेदवार समेत बनेकी थिइन् । २७ प्रतिशत मत ल्याएर उनले तेस्रो स्थान हासिल गरेकी थिइन् ।
यस्तै कीर्ति तुलाधर विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य हुन् । उनी नेपाल जेसीजको आजसम्मका तीनजना महिला राष्ट्रिय अध्यक्ष मध्येकी एक हुन् । उनी अन्तर्राष्ट्रिय जेसीजको पनि दक्षिण एशियाबाटै पहिलो महिला उपाध्यक्ष हुन्।
शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीय तुलाधर हाल विभिन्न संघसंगठनको नेतृत्वदायी भूमिकामा छिन् । दुबै उमेदवारले आफ्नो संयुक्त घोषणापत्र छिटै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने सो पार्टीले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
घोषणापत्र मूलत ७ वटा बुँदाहरूमा केन्द्रीत हुने प्रवक्ता शरदराज पाठकले जानकारी दिएका छन् । जसमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवाप्रवाह, सुलभ, व्यवस्थित, विद्युतीय यातायात, नेवाः कला संस्कृतिको सम्वर्द्धन र पुनर्जागरण, खुला क्षेत्रको संरक्षण र विस्तार, नदी नालाको सफाई र पुनर्स्थापना, सफा र व्यवस्थित काठमाडौँ, गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा हुने पाठकको भनाइ छ ।