निजी क्षेत्रलाई राजस्व स्रोतको रूपमा मात्र हेरियो, विकासको साझेदार मानिएन: अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ)का अध्यक्ष शेखर गोल्छाले राज्यले निजी क्षेत्रलाई राजस्वको स्रोतको रुपमा मात्र हेर्ने गरेको बताएका छन् ।

महासंघको ५६ औं वार्षिक साधरण सभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा सोमबार सोल्टी होटलमा आयोजित कायक्रममा बोल्दै उनले राज्यले निजी क्षेत्रलाई राजस्वको स्रोतको रुपमा मात्र हेरेको तर विकासको साझेदार मान्न नसकेको बताएका हुन् ।

‘निजी क्षेत्रलाई राजस्वको स्रोतको रुपमा मात्र हेरियो, विकासको साझेदार मान्न सकिएन । निजी क्षेत्रलाई सम्पत्ति निमार्ण गर्ने बलियो सम्बाको रुपमा लिन सकेनौं,’ उनले भने ‘सरकारी दस्तावेजले नै भन्छ पूँजी निर्माणमा निजी क्षेत्रको योगदान ७७ प्रतिशत छ, ७० प्रतिशतलाई रोजगारी दिएको छ ।’

उनले पूँजी निर्माण तथा रोजगारी सृजनामा महत्वपूर्ण भूमिका खेलेको निजी क्षेत्रसँग राज्यले सार्थक सहकार्य गर्नुपर्ने बताए । उनले निजी क्षेत्रले ल्याएका योजना कार्यन्वयनमा सहकार्य र सहजीकरणको भूमिका खेल्दिन सरकारसँग आग्रह गरे ।

‘हामीले विस्तृत अध्ययन गरेका छौं, कार्यन्वयनमा सहकार्यमा गरिदिनुस् । हामी लगानी गर्छौं, प्रक्रिया सहज बनाइदिनुस् । हामी उत्पादन गर्छौं, अवरोध नगरिदिनुस् । रोजगारी दिन्छौं, हडताल नगरिदिनुस् । निर्यात गर्छौं, प्रोत्साहन गरिदिनुस् । पर्यटक ल्याउँछौं, स्वागत गरिदिनुस् । हामी राजस्व बुझाउँझौं, अपमान नगरिदिनुस्,’ अध्यक्ष गोल्छाले भने ।

पछिल्ला २ वर्ष कोभिड पुनरुत्थानका लागि केन्द्रिय बैंकमार्फत प्राप्त सहयोगले तंग्रिन सहज भए पनि अहिले संकटन्मुख हुनेबित्तिकै भएका निर्णयले भने अन्योल सृजना भएको बताए ।

उनले अर्थतन्त्र संकटोन्मुख रहे पनि संकटग्रस्त भइ नसकेको बताए । ‘हामीलाई थाहा हामी संकटोन्मुख छौ तर ग्रस्त भइसकेका छैनौ । मलाई विश्वास छ, अहिलेको संकट केही महिनामा टर्छ,’ उनले भने ।