काठमाडौं । निकट भविश्यमा निर्माण सम्पन्न भई संचालनमा आउने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवद्र्धनलाई ध्यानमा राख्दै चालु आर्थिक वर्ष २०७६\७७ मा नेपाल पर्यटन बोर्डले बौद्धमार्गी मुलुकमा प्रवद्र्धन केन्द्रित गर्ने भएको छ ।
नियमित स्रोत बजार, यूरोप, अमेरिका, चीन र भारतबाहेक अब नयाँ स्रोत बजार खोज्न बौद्धमार्गी मुलुकलाई प्राथमिकता दिने योजना नेपाल पर्यटन बोर्डले बनाएको हो ।
बोर्ड संचालक समितिले चालु आर्थिक वर्ष २०७६\७७ को बजेट पारित गरेको छ । यस आवमा बोर्डले १६३ करोड रुपैयाँ बजेट कार्यान्वयन गर्ने भएको छ ।
बोर्डको बजेट गत आव २०७५\७६ को तुलनामा भने घटेको छ । उक्त आवमा बोर्डले १ अर्ब ७५ करोड रुपैयाँको बजेट ल्याएको थियो ।
बोर्डले नेपाल भ्रमण वर्षका लागि करव ३५ करोड रुपैयाँ खर्च गर्ने भएको छ । १० करोड भ्रमण वर्ष सचिवालयलाई नै उपलब्ध गराउने भएको छ ।
प्रवद्र्धनका क्रममा भियतनाम, कम्बोडिया, म्यानमारजस्ता मुलुकमा बढी प्राथमिकता दिने योजना छ । किनकी गौतमबुद्ध विमानस्थल बनेपछि भगवान गौतमबुद्धको जन्म थलोमा अधिक संख्यामा बौद्धमार्गी आउने अपेक्षा गरिएको छ ।
त्यससमय म्यानमार, कम्बोडियालगायत मुलुकका एयरलाइन्सले पनि गौतमबुद्ध विमानस्थलमा उडान थाल्ने योजना बनाएको छन् ।
बोर्डले एक प्रदेश एक गन्तब्य अनुसार हरेक गन्तब्यमा १ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
अब कठमाडौंमा हिमालयन ट्राभल मार्ट, लुम्बिनी ट्राभल मार्ट सहित पोखरामा पोखरा एडभेन्चर टूरिजम मार्ट, पूर्वमा इस्ट ट्राभल मार्ट र पश्चिममा वेस्ट ट्राभल मार्ट आयोजना हुने भएको छ ।
सन् २०२० मा ‘वल्र्ड ट्रेल नेटवर्क’ र ‘वल्र्ड इको टूरिजम कन्क्लेभ’ नेपालमा आयोजना हुने भएका छन् ।
यी विश्वव्यापी आयोजना हुने ठूला इभेन्ट हुन् । विदेशका कार्यक्रममा गैरआवासीय नेपाली र दूतावाससँग समन्वय हुने भएको छ ।
नेपालको विज्ञापन बीबीसी, सिएनएनमा बजाउने योजना समेत राखिएको छ । विश्वका विभिन्न शहरमा गुड्ने बसमा नेपालको प्रवद्र्धन हुने खालका पोस्टरसमेत टासिने भएका छन् ।