काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले सत्तारुढ माओवादी केन्द्रले आफ्नो तस्वीर चुनावी पोष्टरमा राखेकोप्रति आपत्ति जनाएका छन् । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयलाई तत्कालै हटाउन पनि अनुरोध गरेका छन् ।
माओवादी अध्यक्ष प्रचण्डको आधिकारीक फेसबुक पेजमार्फत बुधबार सार्वजनिक गरिएको चुनावी पोस्टरमा घिसिङको तस्बिर पनि राखिएको छ । पोस्टरमा प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्वीर प्रयोग गरी ‘लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो निःशुल्क बिजुलीको ह्यासट्याग भोट फर सीपीएन माओइस्ट’ लेखिएको छ। यो पोस्टर सार्वजनिक भएपछि घिसिङले आपत्ति जनाएका हुन् ।
“यो कुरा मलाई थाहा थिएन । मेरो तस्वीर हटाइदिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूको सचिवालयलाई भनेको छु । हटाउँछु भनेका छन् ।”, घिसिङले सञ्चारमाध्यमसँगको कुराकानीमा भनेका छन्, “निर्वाचन आचारसंहिता र कर्मचारी आाचारसंहित दुवैले मेरो तस्वीर राख्न मिल्दैन ।”