काठमाडौं । किर्गिस्तानमा रहेको नेपाली राष्टिय फुटसल टोलीले जित विहीन हुँदै एएफसी फुटसल एसियन कप छनोट यात्रा सकाएको छ।
एशियन कप छनोटको अन्तिम खेलमा अफगानिस्तानसँग ८–१ को फराकिलो अन्तरले पराजित भएसँगै नेपालले छनोट यात्रा सकाएको हो।
किर्गिस्तानको विश्केकस्थित ग्याज्पोर्म स्पोट्र्स कप्लेक्समा मंगलबार भएको खेलमा नेपालका सुमित श्रेष्ठले एक गोल गरे।
नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ ले तथा दोस्रो खेलमा ताजिकिस्तानसँग ११–१ को फराकिलो हार व्यहोरेको थियो।
नेपाल रहेको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह बी बाट उज्वेकिस्तान र ताजिकिस्तान छनोट भएका छन्।
समान ४ अंक भएपनि ताजिकिस्तानसँग अफगानिस्तान गोल अन्तरमा पछि पर्यो। समूह ए मा इरान, आयोजक किर्गिस्तान, तुर्केमेनिस्तान र माल्दिभ्स छन्।
प्रतियोगिता अन्तर्गत साउथ तथा सेन्ट्रल जोनको दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोलीले सन् २०२२ मा कुवेतमा हुने एएफसी फुटसल एसियन कपमा स्थान बनाउनेछन्।