काठमाडौं । विश्वकप छनोट फूटबलको दोस्रो खेलमा नेपाल उत्कष्ट पुनरागमन गर्न सफल भएको छ ।
पहिलो खेल कुवेतसँग ७ गोल अन्तरले हारेको नेपालले मंगलबार चाइनिज ताइपेविरुद्ध भने उत्कृष्ट खेल पस्कियो ।
नेपालको जीतमा फर्वाड अन्जन विष्ट नायक बने । नेपालले आफुभन्दा निकै बलियो टोलीलाई उसकै घरेलु मैदानमा हराउने क्रममा २ गोल गर्यो ।
घरेलु टोलीले एक गोल पनि फर्काउन नसकेपछि नेपालको खातामा महत्वपूर्ण ३ अंक प्राप्त भएको छ । दुबै खेल विष्टले गरे ।
नेपालले अघिल्लो खेल हार्दा विष्ट धेरैजसो समय मैदान बाहिरै बसेका थिए । आजको खेलमा भने उनले आफूलाई एक अब्बल दर्जाको फर्वाडका रुपमा प्रमाणित गरिदिए ।
आज नेपाली टोलीले तीन परिवर्तन गरेको थियो । विक्रम लामालाई बेञ्चमा राखेर विष्टलाई खेलाइएको थियो ।
सुमन अर्याल र अजित भण्डारीको स्थानमा रञ्जित धिमाल र दिनेश राजवंशीले खेल्ने मौका पाएका थिए ।
प्रशिक्षक योहान कालिनको रणनीति मंगलबार भने काम गर्यो । नेपालले फवार्डसँगै मिडफिल्ड र डिफेन्समा पनि राम्रै प्रदर्शन गरेको थियो ।
तेस्रो मिनेटमा डि-बक्स बाहिरबाट सुजल श्रेष्ठले हानेको फ्रिकिकलाई विष्टले हेड गोलमा परिणत गरेका थिए ।
खेलको ६४ औं मिनेटमा अञ्जन आफैले एक दर्शनीय गोल गरे । रवि पासवानले सुजललाई दिएको बल सुजलले हेड गरी अन्जनलाई दिएका थिए । उनले उक्त बल कन्ट्रोल गरी उत्कृष्ट गोल गरे र टोलीको जीत सुनिश्चित गरे ।