काला सागरमा रुसको प्रमुख युद्धपोत ध्वस्त, चालकदलका सदस्यको उद्धार

काठमाडौं । काला सागरमा रुसको युद्धपोत ध्वस्त भएको छ। युक्रेनको ओडिसाको क्षेत्रीय प्रशासनका अनुसार युक्रेनले प्रहार गरेको मिसाइलबाट उक्त युद्धपोत ध्वस्त भएको हो।

रुसको रक्षा मन्त्रालयले पनि युद्धपोतमा ठूलो क्षति पुगेको बताए पनि युक्रेनको मिसाइलले उक्त क्षति पुगेको भने बताएको छैन।

रुसका अनुसार युद्धपोतमा आगालागीको कारण क्षति पुगेको हो। आगलागीपछि युद्धपोतमा रहेका चालकदलका सदस्यलाई उद्धार गरिएको रुसले बताएको छ।

रुसले युद्धपोतमा आगलागीको कारण पत्ता लगाउने प्रयास भइरहेको उल्लेख गरेको छ। काला सागरमा रुसले तैनाथ गरेको मोस्क्भा युद्धपोत युक्रेनमा आक्रमणको लागि प्रयोग हुँदै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्।