नेपाली सेयर बजारमा लगातार उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार उच्च अंकको गिरावट आएको छ । नयाँ वर्ष २०७९ को पहिलो कारोबार दिन आइतबार २९ अंकले घटेको नेप्से आज सोभन्दा धेरै ४१ अंकले घटेको हो । पछिल्ला दुई दिनमै नेप्से ७० अंकले घटेको छ ।

सूचकमा उच्च गिरावट आउँदा कारोबार रकममा भने झिनो बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ९ करोडले बढेर डेढ अर्ब नाघेको छ ।

सोमबार नेप्से ४१.७७ अंकले घटेर २३४३.८७ विन्दुमा आइपुगेको छ । यसदिन २२९ कम्पनीको १ अर्ब ५३ करोड ६ लाख ९२ हजार ९५६ रुपैयाँ बराबरको ३८ लाख ७६ हजार ३०२ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ३.४४ प्रतिशतले घटेको छ । त्यस्तै, निर्जीवन बीमा समूह पनि ३ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएको २२९ कम्पनीमध्ये जम्मा २० कम्पनीको सेयर मूल्य बढेको छ भने २०२ कम्पनीको घटेको छ । ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ५ करोड रुपैयाँकोे सेयर किनबेच भएको छ । त्यसैगरी,हिमालयन डिस्ट्रीलरी पौन ५ करोड र महालक्ष्मी विकास बैंककको साढे ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

उच्च अंकले घटेको बजारमा नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसको मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

घट्दो बजारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर बैंकका सेयरधनीले सबैभन्दा धेरै ८.३३ प्रतिशत गुमाएका छन् । त्यस्तै, हिमालयन ऊर्जा ७.५७, इमर्जिङ नेपाल ७.१०, ग्रीन लाइफ हाइड्रोपावर ६.०७, युनिभर्सल पावर, गुडविल फाइनान्स, कालिका पावर, घलेम्दी, हिमालयन पावर, प्रोग्रेसिभ फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक र नेपाल हाइड्रोको सेयर मूल्य साढे ५ प्रतिशतले घटेको छ ।