काठमाडौं । पोखरा महानगरपालिका आफुले पाउनु पर्ने अडानका बीच नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको विवादमा अड्किएको चुनावी तालमेलको निर्णय सल्ट्याउन मंगलबार समेत सत्तारुढ दलको बैठक बस्ने भएको छ । दलहरुबीच ६ वटा महानगरपालिकाको बाँडफाँटको विषयलाई लिएर छलफल जारी छ । जसमध्ये ५ वटा महानगरपालिकामा सहमति जुटिसकेको र पोखरा महानगरको प्रमुखमा मात्र विवाद सल्टाउन बाँकि रहेको छ ।
पोखरामा अघिल्लो चुनावमा नेकपा एमालेले जितेको हो । सोहीकारण पोखरा आफूले पाउनुपर्ने नेकपा एकीकृत समाजवादीको अडान रहेको छ । यहाँ कांग्रेसले पनि नेतृत्व दावि गरेपछि विवाद निस्किएको हो । पोखराबाहेकमा भने तीन वटा (काठमाडौं, ललितपुर र विराटनगर) कांग्रेस, भरतपुर माओवादी केन्द्र र वीरगन्ज जसपाले लिने गरि सहमति जुटिसकेको छ ।
केन्द्रबाट ६ महानगर र ११ वटा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख गरी ३४ सिटमा पाँच दलबीच भागबन्डा गर्ने यसअघि नै सहमति छ । अन्य पालिकामा भने स्थानीय आवश्यकताका आधारमा तल्लो तहले निर्णय लिनेछन । स्थानीय तहको निर्वाचन ३० वैशाखमा तोकिएको छ । मंगलबार बिहान ११ बजे बस्ने भएको नेताहरुले बताएका छन् ।