७ वटा उपमहानगरपालिका कांग्रेसले पायो, अन्य पार्टीलाई कति ?

काठमाडौं । महानगरपालिकामा भागवण्डा टुंग्याएका सत्तारुढ गठबन्धनबीच ११ वटा उपमहानगरपालिकामा समेत करीव करीव टुंगो लगाएको छ । मंगलबार साँझ बसेको गठबन्धनमा रहेका दलको शीर्ष नेताको बैठकमा उपमहानगरपालिकाका सन्दर्भमा अधिकांशमा सहमति जुटाएका छन् । जनकपुरमा भने नेपाली कांग्रेस र जनता समाजवादी दुबैले दावी गरेपछि विवाद कायमै छ ।

यसअघि कांग्रेसलाई ६, माओवादी केन्द्रलाई ३ र जसपा र नेकपा एकीकृत समाजवादीलाई एक–एक वटाका दरले उपमहानगरपालिका बाड्ने भनिएको थियो । पोखरा महानगरपालिका छोडेपछि कांग्रेसले सातवटा उपमहानगर पाउने भएको छ । घोराही र जितपुर सिमरा उपमहानगरपालिकाको मेयर माओवादीले पाउने भएको छ ।

हेटौंडा उपमहागरपालिका नेकपा एकीकृत समाजवादीको भागमा परेको छ । जनकपुरमा जसपा र नेपाली कांग्रेसको दावी यथावत् छ । इटहरी, धरान, कलैया, बुटवल, तुल्सीपुर, नेपालगञ्ज र धनगढीको मेयरमा नेपाली कांग्रेसले पाउने भएको छ ।