काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी ११ वैशाखबाट काठमाडौंका धाराहरुमा वितरण गरिने भएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले यही वैशाख ११ गतेदेखि काठमाडौँ उपत्यकावासीका धारामा मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएका छन् । पानी प्रशोधनलगायत तयारीका काम गर्न मेलम्ची आयोजनासहित सरोकारवाला निकायलाई उनले मंगलबार निर्देशन समेत दिए । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्चीको मुहानबाट गत चैत ३० गते सुरुङमा हालिएको पानी सोमबार राति सुन्दरीजलमा आइपुगेको छ ।
गत वर्ष असार १ मा बाढीले मेलम्चीको मुहानमा ठूला ठूला ढुङ्गा ल्याएर पुरेको थियो । नेपाली सेनाको समेत सहयोगमा आयोजनाले मुहान सफा गरेपछि पुनः पानी आउने अवस्था बनेको हो । काठमाडौँ उपत्यकाका १० वटै पानीपोखरीबाट समानुपातिक रुपमा पानी वितरण गर्न मन्त्रीले आह्वान गरे । मन्त्रालयका सचिव सुरेश आचार्यले खानेपानी चुहावट भएका स्थानमा सडक विभागसँग समन्वय गरेर मर्मतसम्भार गरी सडक पुनःनिर्माण गरिने बताए ।
काठमाडौँ उपत्यकामा हाल तीन लाख ३७ हजार धारा रहेकामा मेलम्चीको पानी वितरणका लागि थप एक लाख ६० हजार धारा निर्माण गरिसकिएको उनले बताए । मुहानबाट २६० लिटर प्रतिसेकेण्डका दरले सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको थियो। सुरुङ पूरा भरिन दुई दिन लाग्नेछ। भरिएपछि प्रशोधन केन्द्रमा ल्याई प्रशोधन गरी मेलम्चीको पानी वितरण गर्ने गरी तयारी गरिएको छ।
यसअघि राजधानी आइपुगेको पानी गत वर्ष असार १ गतेको बाढीका कारण मुहान क्षेत्रका संरचना भत्किएपछि अवरुद्ध भएको थियो। मेलम्ची आयोजनाले अहिले अस्थायीरुपमा पानी ल्याउन लागेको हो। वर्षा लागेसँगै फेरि पानी बन्द गरिने छ। वर्षा कम भएपछि फेरि पानी ल्याउने तयारी गरिएको बताइएको छ।