काठमाडौं । इङ्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको लिभरपुलले बलियो प्रतिद्वन्दी म्यानचेस्टर युनाइटेडमाथि प्रभावशाली जित निकालेको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा लिभरपुलले युनाइटेडलाई ४–० गोलले हराउन सफल भयो । लिभरपुलको फराकिलो जितमा मोहम्मद सलाहले दुई तथा लुइस डियाज र साडियो मानेले एक एक गोल गरे । एकपक्षीय खेलमा लिभरपुलले पाँचौँ मिनेटमा गोलको खाता खोलेको थियो । लुइस डियाजले गोल गरे ।
२२औँ मिनेटमा मोहम्मद सलाहले साडियो मानेको पासमा गोल गरेका थिए । दोस्रो हाफमा दुई गोल थपेको लिभरपुलका लागि मानेले ६८औँ र सलाहले ८५औँ मिनेटमा गोल गरे । यस जितसँगै लिभरपुलले लिग जित्ने सम्भावना बलियो बनाएको छ । जितसँगै शीर्षस्थानमा उक्लिएको लिभरपुलको ३२ खेलबाट ७६ अंक पुगेको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटी ७४ अंक सहित दोस्रो स्थानमा छ । हारसँगै ५४ अंक बनाएको युनाइटेड छैटौँ स्थानमा छ ।