सत्तारुढ गठबन्धनले प्रमुख सहरहरुमा संयुक्त चुनावी सभा गर्ने, कहिले कहाँ ?

काठमाडौं । सत्तारुढ गठबन्धनले देशका प्रमुख सहरमा संयुक्त चुनावी सभा गर्ने भएका छन् । स्थानीय तहको निर्वाचनमा देशभर गठबन्धन गर्ने निर्णय गरेका सत्तारुढ पाँच दलले सातवटै प्रदेशका मुख्य सहरमा संयुक्त चुनावी सभा गर्ने भएका हुन् ।

गठबन्धनको चुनावी परिचालन तथा अनुगमन समितिको बिहीबार बिहान बसेको बैठकले विभिन्न सात सहरमा संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको हो । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले वैशाख १८ देखि २२ गतेसम्म सात प्रदेशका सात मुख्य सहरमा चुनावी सभा गर्ने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार निर्वाचन प्रचारप्रसार वैशाख १७ गतेबाट सुरु हुने भए पनि गठबन्धनले १८ देखि २२ गतेसम्म संयुक्त चुनावी सभाहरू गर्ने तय गरेकाे हाे । गठबन्धनले वैशाख १८ गते धनगढी र सुर्खेत, १९ गते बुटवल र पोखरा, २० गते जनकपुर र विराटनगर तथा २२ गते काठमाडौंमा संयुक्त चुनावी सभा हुने नेता गुरुङले बताए । काठमाडौंमा हुने संयुक्त चुनावी सभालाई गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।