काठमाडौं । अमेरिकाको सत्तारुढ डेमोक्र्याटिक पार्टीका सांसदहरूको एक समूह तीन दिने भ्रमणका सिलसिलामा शुक्रवार नेपाल आउने भएको छ । अमेरिकी कंग्रेसको माथिल्लो सदनका चार जना सिनेटर मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर र एड मार्की आज बेलुका नेपाल आउने भएका हुन् । उनीहरुको साथमा तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्य मोन्डेयर जोन्स पनि नेपाल आउने छन् । नेपाल अमेरिका कुटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वर्ष प्रवेशको पूर्वसन्ध्यामा यो भ्रमण हुन लागेको हो ।
अमेरिकी संसदीय टोलीले नेपाल भ्रमणका क्रममा रुसले युक्रेनमाथि गरेको आक्रमणलगायतका विषयमा पनि छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ । टोलीका सदस्य मार्क केली नासाका पूर्वअन्तरिक्ष यात्रीसमेत हुन् । टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का र कांग्रेस सांसद मिनेन्द्र रिजालको नेतृत्वमा रहेको नेपाल–अमेरिका मैत्रीपूर्ण संसदीय समितिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।