काठमाडौं । जनकपुरधाममा जनता समाजवादी पार्टी (जसपा)लाई सघाउने सत्ता गठबन्धनको निर्णयप्रति नेपाली कांग्रेसभित्र विद्रोह भएको छ । कांग्रेसका जनकपुरधाम उपमहानगरपालिकाका सभापति मनोजकुमार साहसहित थुप्रै नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् ।
जसपालाई सघाउने निर्णयप्रति असन्तुष्ट उनीहरुले शुक्रबार सामूहिक रुपमै राजीनामा दिएका हुन् । सामूहिक राजीनामा दिनेमा नगरसभापति साहसहित नगर सचिव लालबाबु मिश्र, कोषाध्यक्ष वीरेन्द्र यादव, वडा नं. १५ का सभापति नन्दलाल साहसहित अढाई सय सक्रिय सदस्य रहेका छन् ।
सामूहिक राजीनामा दिएका साहले स्वतन्त्र रुपमा मेयर पदमा उम्मेदवारी दिने घोषणा पनि गरेका छन् । पत्रकार सम्मेलनमा उनले कांग्रेस सबै वडा सभापतिको समर्थनसहित स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताए ।